काठमाडौं । सीमा क्षेत्रका मात्रै नभएर नेपालभरबाट विद्यार्थीहरु उच्च अध्ययनका लागि भारत जाने गर्छन् ।

तर समय समयमा बाहिर आउने भारतको शिक्षा व्यवस्थाले सबैलाई दंग पार्ने गरेको छ । यो बीचमा भारत बिहारबाट अनौठो खबर सार्वजनिक भयो ।

भारत, बिहारको मुंगेर विश्वविद्यालयले सत्र २०१८–२१ स्नातक भाग–३ को लागि बीए नतिजा जारी गरेको हो । नतिजा प्रकाशन गर्दा विश्वविद्यालयको परीक्षा विभागको ठूलो लापरवाही देखा परेको छ ।

विश्वविद्यालयले स्नातक तहका तीनवटै भागलाई जोडेर ८ सयको सट्टा ८६८ अंक दिएको छ । साथै, भाग–३ को अनर्स विषयको प्रश्नपत्र–५ मा कूल १०० अंकको सट्टा ५५५ अंक दिइएको छ ।

यति मात्र होइन, विद्यार्थीलाई कुल १०८.५ प्रतिशत अंक दिइएको छ । विश्वविद्यालयले स्नातक तहको कला संकायको भाग–३ को नतिजा सार्वजनिक गरेको छ, जसको टीआरको वेबकपी पनि विश्वविद्यालयको आधिकारिक वेबसाइटमा अपलोड गरिएको छ ।

यस नतिजामा केकेएम कलेज जमुईका इतिहास अनर्सका विद्यार्थी दिलीपकुमार साह (रोल नम्बर ११८०४००७३) ले भाग ३ को प्रश्नपत्र ५ विषयमा १०० अंकमा ५५५ अंक प्राप्त गरेका छन् ।

जसकारण उनको कुल स्कोर पनि ११३० पुगेको छ । सबैभन्दा अचम्मको कुरा के छ भने उनले कुल अंकको १०८.५ प्रतिशत अंक पाएका छन् ।

धेरै प्राविधिक कारण र नतिजा सहि रूपमा प्रकाशन गर्न नसक्दा परीक्षा विभागले दुईपटक नतिजा प्रकाशन गर्ने मिति तोकेर पनि गर्न सकेको थिएन् ।

तर अहिले विश्वविद्यालयले सार्वजनिक गरेको नतिजा परीक्षक, मेकरबाहेक परीक्षा नियन्त्रक, उपकुलपति र उपकुलपतिले पनि स्वीकृत गरेका छन् ।

सोही क्रममा परीक्षा नियन्त्रक डा रामाशिष पुर्वेले फोनमा गल्ती भएको स्वीकार गर्दै सच्याइने कुरा स्पष्ट पारे । अन्तिम वर्षमा पनि यस्तो गल्ती हुनु चिन्ताजनक विषय रहेको उनको भनाई रहेको छ । यस विषयमा परीक्षा नियन्त्रकलाई सोधिने जनाइएको छ ।

 

सम्बन्धित खबरहरु