काठमाडौँ, ९ भदौ । परम्परागत चित्रकारले पौभा, थान्का जस्ता परम्परागत चित्रकलाबारे प्राज्ञिक बहस, अध्ययन अनुसन्धान तथा संरक्षणमा खासै काम नभएकामा चिन्ता व्यक्त गरेका छन् ।
नेपाल ललितकला पत्रकार समाज (सोफाज)को आयोजनामा तारागाउँ म्युजियम, बौद्धमा बुधबार भएको ‘कलाका कुरा’ शीर्षक अन्तरक्रियामा पौभा चित्रकार लोक चित्रकारले आशा सफु गुथी गुठी, राष्ट्रिय अभिलेखालय तथा अन्य सङ्ग्रहालय र चित्रकारका चित्रलाई पहिलो स्रोतका रुपमा लिई पौभाको अध्ययन गर्न अनुसन्धाता र पत्रकारलाई आग्रह गर्नुभयो ।
उहाँ ४० वर्षदेखि यस क्षेत्रमा संलग्न हुनुहुन्छ । परम्परागत कला सम्बन्धि संस्थाका अध्यक्ष पनि रहनुभएका चित्रकारका जापानी सङ्ग्रहालयमा पनि पौभा चित्र राखिएका छन् । यसै व्यवसायबाट उहाँले जीवन गुजारिरहनुभएको छ । नेवार शैलीको पौभा चित्रलेखन तिब्बतमा विगतमा ३०० वर्ष सम्म चलेको उहाँको भनाइ छ ।
पौभा चित्रकारले प्रज्ञा, ज्ञान, करुणा, प्रेमजस्ता भावलाई मूर्तरुप दिएर आफ्नो स्वतन्त्रता र सिर्जनशीलता उपयोग गरेर परम्परागत चित्रकलालाई अघि बढाइरहेको बताउँदै सिम्रिक चित्रालय (सिम्रिक एटेलियर) का संस्थापक चित्रकारले आफूहरुले कलाका लागि मात्र नभएर धर्म, अध्यात्म र जीवनका लागि कला सिर्जना गरेर राष्ट्रको प्रतिष्ठा अघि बढाइरहेको उल्लेख गर्नुभयो । पौभासम्बन्धी पुस्तक प्रकाशन, अभिलेखीकरण, पुरस्कारको व्यवस्था गर्न उहाँले सबैको ध्यानाकर्षण गराउनुभयो ।
सोफाजका महासचिव देवेन्द्र थुम्केली सहजकर्ता रहनुभएको सो कार्यक्रममा रमेश खनाल, सोफाजका अध्यक्ष केशवराज खनाल, सल्लाहकार श्याम रिमाल आदिले पौभा र थान्काको इतिहास, यसको प्रवद्र्धन, संरक्षण आदिबारे जिज्ञासा राख्नुभएको थियो । रासस