२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

गलेश्वर मन्दिरको ११ महिनाको आम्दानी करोड नाघ्यो

Galeshwar Temple

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा एक करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । चालु आवको साउनदेखि जेठ २१ गतेसम्म एक करोड पाँच लाख २१ हजार पाँच सय आठ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिनुभयो ।

‘गत वर्षको असारसम्म कोषको आम्दानी दुई करोड ९० लाख ८२ हजार २३५.६० थियो’, उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षको हालसम्म एक करोड ५१ लाख एक हजार एक सय ३८ आम्दानी भएकामा विभिन्न शीर्षकमा ४५ लाख ७९ हजार छ सय ३० खर्च भएको छ । मण्डप भेटी २४ लाख ७६ हजार चार सय ९९ र मेलापर्वको भेटी २६ लाख ९१ हजार छ सय ३८ आम्दानी भएको छ । आव २०७८–७९ मा ४० लाख ८५ हजार पाँच सय २२ भेटीसहित ९१ लाख ८२ हजार पाँच सय ६९ आम्दानी भएको थियो ।

विसं २०६७ सम्म भक्तजनले मूल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालिग्राम, कुण्डलगायत क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगदसहित जिन्सी सामग्रीको कुनै लेखाजोखा हुने गरेको थिएन । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

धर्मशाला, सभाहल, बाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, १०८ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् । तेह्र वर्षअघिसम्म ३१ लाख रहेको कोषको आम्दानी हाल करिब चार करोड पुगेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस