२०८२ असार २८ गते शनिवार | 2025 July 12th Saturday

मिटरब्याज पीडितलाई गृहमन्त्रीको आश्वासन- ‘ढुक्क भएर घर जानुस्, बाँकी काम हामी गर्छौं’

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुलाई ढुक्क भएर घर फर्किन आग्रह गर्नुभएको छ । नयाँ बानेश्वरस्थित मिटरब्याज पीडितको धर्नास्थलमा पुगेका गृहमन्त्री श्रेष्ठले कुनै हालतमा मिटर ब्याज पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता जनाउनुभएको हो ।

‘विधेयक संसदमा छ, अस्वीकार भएको होइन । विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइने छ ।’, उहाँले भन्नुभयो ‘ढुक्कसँग घरमा गएर आयोगको प्रक्रियामा जानुहोला । विधेयक पारित गर्ने काम हामी गर्छौं ।’ अध्यादेश आउनुभन्दा अगाडि नै सरकारले आयोग बनाएको र त्यसले काम गरिरहेकाले गृहमन्त्रीले पीडितलाई ढुक्क हुन आग्रह गर्नुभएको हो । यतिसम्म कि ऋण दिनेहरुको रकमको ब्याजसहित फिर्ता दिइने गृहमन्त्रीले आवश्वासन दिनुभयो ।

‘जति ऋण दिइएको छ, न्यायोचित ब्याजसहित फिर्ता पाउनेछन् । उहाँहरुलाई अन्याय गर्ने भनेका छैनौं ।’ उहाँले भन्नुभयो, ‘तर ५ लाख ऋण दिएर ५० लाखको तमसुक बनाउने, दिएको भन्दा दोब्बर तेब्बर पैसा लिने, घरजग्गा पनि रजिष्ट्रेशन पास गरेर लिने । यो अपराधलाई छुट दिन सकिन्न ।’

अनुचित लेनदेनसम्बन्धी अध्यादेश जारी भएको ६० दिनभित्र संसदले प्रस्तिस्थापन गर्न बनेको विधेयक संसदले पास नगरेपछि निस्क्रिय भएसंगै मिटर ब्याज पीडितहरुले संसद भवन अगाडि भर्ना दिइरहेका छन् ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस