२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

एमालेसँग नयाँ गठबन्धनमा जोडिने खबर असत्यः अर्थमन्त्री महत

काठमाडौं । कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा। प्रकाशशरण महतले पछिल्लो एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने तयारी भइरहेको विषयमा बाहिरिएका हल्ला असत्य भएको दाबी गर्नुभएको छ ।

पोखरामा रहनुभएका मन्त्री महतले प्रेस युनियन कास्की शाखाले शनिबार गरेको पत्रकार सम्मेलनमा कांग्रेसले एमालेलाई समेटेर नयाँ सत्ता समीकरण बनाउन लागेको भन्ने कुरा असत्य रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘यो सब भ्रम हो। संसद्मा सबै दलका नेताहरूसँग भेट भइरहेको हुन्छ। यसकै आधारमा हल्ला गर्नुहुँदैन। गठबन्धनले लक्ष्यसहित काम गरिरहेको छ। कांग्रेसलाई अहले नै हतारिनु छैन।’

महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय सिर्जनामा सहयोग पुग्ने दाबी गर्नुभयो । ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ। त्यसका लागि बाटो तय भएको छ,’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस