२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

‘भ्रष्टाचारको जरो नफाले २०८४ मा जनताले फाल्छन्’

डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल सरकारले खोलेको भ्रष्टाचारको फाइल जरासम्म नपुगे २०८४ मा जनताले जरो उखेलेर फाल्ने चेतावनी दिनुभएको छ ।

आज दिउँसो डडेल्धुरा सदरमुकाम बागबजारको बसपार्कमा आयोजित जनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारको फाइल खोल्ने र बन्द गर्ने काम सरकारले गर्न नहुने बताउनुभयो ।

भ्रष्टाचारको फाइल खोलेर जरैसम्म पुगेर उखेली फाल्नुपर्ने उहाँको भनाइ छ । भ्रष्टाचारका हाँगाबिँगा मात्र समाती जरासम्म नपुगी फाइल बन्द गरियो भने २०८४ को निर्वाचनमा जनताले हालको नेतृत्वलाई जरैदेखि फाल्ने उहाँले बताउनुभयो ।

“हाम्रो पार्टीको पहिलो नारा भ्रष्टाचारको जरो उखेल्ने हो । अहिले भ्रष्टाचारको फाइल खुलेको छ । जिस्काउनका लागि फाइल नखोलियोस्” उहाँले भन्नुभयो, “वर्तमान सरकारले २०८४ सम्म जरो फेला नपारे जनताले फाल्ने छन् ।

सरकारको राम्रो काममा आफ्नो दलले साथ सहयोग गर्ने सभापति लामिछानेले बताउनुभयो । जनताको आँखामा छारो हाल्ने काम सरकारले नगरोस् उहाँले भन्नुभयो, “अहिले दैनिक रुपमा हजारौ युवा रुँदै देश छाडेर रोजगारीका लागि विदेश जान बाध्य छन्, युवाहरुलाई स्वदेशमा रोक्न रास्वपा पार्टी जन्मेको हो ।”

यसरी नियमित रुपमा युवाहरु देश छाडेर जागिर खोज्न विदेश पलायन भएमा देशमा ठूलो विपत्ति निम्तिन सक्ने उहाँको भनाइ छ । “नेपालको विकास किन हुन सकेन भनेर अहिले म विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरी योजना बनाइरहेको छु” उहाँले भन्नुभयो, “विज्ञहरुसँग बस्दा नेपाल भूगोल रमणीय, अथाह सम्भावनाको खानी भए पनि देशलाई माया गर्ने नेतृत्व नभएको भन्दै दुःखेसो गर्नुभयो ।”

तपाई सबैको निधारमा कुनै न कुनै पार्टीको छाप लगाइएको छ । उहाँले भन्नुभयो, “तपाईंहरुले जीवनभरी भोट हालेका व्यक्ति यहाँ छन् । नारा पनि छन् । अहिलेको नेतृत्वलाई खतराको घण्टी बजिसकेको बताउँदै उहाँले आगामी निर्वाचनमा स्वतन्त्र पार्टीको घण्टी सबैतिर बज्ने दाबी गर्नुभयो । परिवर्तनका लागि घण्टी बजाउन मात्रै होइन, घण्टीले बजाउन पनि आउने उहाँको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस