२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

जानकारी नगराइ भारतीय प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रको भ्रमण गरेकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । पूर्व जानकारी नगराइ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको कालापानी क्षेत्रमा भ्रमण गरेको भन्दै राष्ट्रिय जनमोर्चा पार्टीले आपत्ति जनाएको छ । आज विज्ञप्ति निकालेर जनमोर्चाले नेपालको कालापानी क्षेत्रमा पर्ने गुञ्जी गाउँमा नेपाललाई पूर्व जानकारी नगराइ वा अनुमति नलिइ भएको मोदीको भ्रमणको विरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ –‘कालापानी क्षेत्रमा पर्ने गुञ्जीलगायतका गाउँ दार्चुला जिल्लाको व्यास गाउँपालिकाको वडा नं। १ मा पर्दछन् । कुटी, गुञ्जी, नाभी, न्युराङ, छोटाकैलाशसहितको कालापानी क्षेत्र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताभित्र पर्ने भूभाग हुन् । नेपाललाई कुनै जानकारी नै नगरि भारतीय प्रधानमन्त्री यी क्षेत्रमा भ्रमण गर्ने कुरा अन्तर्राष्ट्रिय कुटनीति, मर्यादा तथा शिष्टाचारको उल्लङ्घन हो । त्यसका साथै त्यो भारतीय साम्राज्यवादको नेपालप्रतिको हेपाहा तथा विस्तारवादी नीति नै हो ।’

भारतीय साम्राज्यवादले कालापानी क्षेत्रलाई कब्जा गरेर भारतीय सङ्घमा मिलाउनका लागि लामो समयदेखि विभिन्न षड्यन्त्र गर्दै आएको पनि जनमोर्चाको आरोप छ । ‘अहिलेको मोदीको भ्रमण त्यसैको एउटा कडी हो । भारतीय प्रधानमन्त्रीको भ्रमणबाट पनि कालापानी क्षेत्रको अतिक्रमित भूभाग भारतले सहज रुपमा छोड्ने र आफ्ना सेना फिर्ता लैजाने पक्षमा नभएको नै देखाउँछ । त्यसैले कालापानीको विवादलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्दछ’ विज्ञप्तिमा उल्लेख छ । हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रको भ्रमण गरेका थिए । मोदीको यो भ्रमणबारे पूर्व जानकारी नभएको सरकारले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस