भर्जिनिया । पत्नी ममता काफ्ले भट्टको हत्या गरी शव लुकाएको आरोप सामना गरिरहेका नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार सात जना साक्षीले अदालतमा बयान दिएका छन्। ममताको शव अहिलेसम्म फेला नपरे पनि अभियोजन पक्षले हत्या पुष्टि गर्न विभिन्न प्रमाण र साक्षी प्रस्तुत गरिरहेको छ। सुनुवाइमा ममताकी आमा गीता काफ्लेले जुलाई ३०, २०२४ यता छोरीसँग सम्पर्क नभएको र उनी आफूलाई नभनी कतै नजाने, हरेक दिन भिडियोमा कल गर्नैपर्ने र नियमित बोलिनै रहेको मायालु स्वभावकी रहेको बताउँदै भावुक बयान दिइन्। ममताकी घनिष्ठ साथी सरिता न्यौपानेले ममताले नरेशमाथि परस्त्रीगमन र शारीरिक हिंसाको आरोप लगाएको, सम्बन्धविच्छेद गर्न चाहेको तथा अनुहारमा चोट लागेको भिडियो देखाएको अदालतमा बताइन्।
अनुसन्धान अधिकारी डिटेक्टिभ क्लाउडिया भेन्टुराले कुनै पनि आमाले सानो बच्चालाई छाडेर नजाने भन्दै घटनालाई अनैच्छिक बेपत्तामा वर्गीकरण गरी फोन र सामाजिक सञ्जालको अनुसन्धान अघि बढाएको जानकारी दिइन्। अदालतमा प्रस्तुत बडीक्याम भिडियोमा नरेशले आफूहरूको मागी विवाह भएको, संस्कृतिमा सम्बन्धविच्छेदको चलन नरहेको र ममतालाई माया गर्ने दाबी गरेका छन्, यद्यपि ममताले सम्बन्धविच्छेदको कुरा उठाएको स्वीकार गरेका छन्।
सार्जन्ट ब्रेडी पेलाथले सुरुमा ममता केही समयका लागि बाहिर गएको हुन सक्ने ठाने पनि पछि अस्पताल, जेल तथा विभिन्न निकायमार्फत खोजी सुरु गरिएको बताए। अदालतमा बजाइएको भिडियोमा नरेशका एक आफन्तले जिम्मेवार नर्स रहेकी ममता यसरी बेपत्ता हुनु गम्भीर र शंकास्पद घटना भएको बताएका थिए।
ममताकी सहकर्मीले पनि उनी छोरीप्रति अत्यन्त समर्पित रहेको बयान दिएकी छन्। चौथो दिनको सुनुवाइ बिहीबार सकिएको छ भने मुद्दाको बाँकी सुनुवाइ आगामी मंगलबार पुनः सुरु हुनेछ।

