२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

एमाले छाडेकी प्रभु शाहकी श्रीमती रिनाकुमारी साहको गुम्यो मेयर पद

काठमाडौं । नेकपा (एमाले) त्याग गरेकी पूर्व मन्त्री प्रभु शाहकी श्रीमती रिनाकुमारी साहको मेयर पद गुमेको छ। उनी २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी थिइन्।

उनी एमाले छाडेर पति प्रभु साहको आम जनता पार्टी प्रवेश गरेको एमालेले बताएको छ। एमालेले दल त्यागको जानकारी निर्वाचन आयोगलाई गराएको थियो। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको सूचना आयोगले निकालेको हो।

‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका रौतहट जिल्ला, मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त भएको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्ने र सोही नियमको उपनियम (३) बमोजिम सूचना प्रकाशन भएपछि त्यस्ता सदस्यको पद स्वतः रिक्त हुने भनी आयोगबाट मिति २०६०/०६/२९ गते निर्णय भएको हुँदा यो सूचना प्रकाशन गरिएको छ,’ आयोगले सूचना प्रकाशित गरेर जानकारी गराएको छ। अब यहाँ उपनिर्वाचन हुनेछ ।

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस