२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

शुभ साइत एवं समृद्धिको प्रतीक टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर २ मिनेटमा

काठमाडौं । दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।

दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटको साइत उत्तम रहेको जनाएको छ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका सदस्य तथा वाल्मिकी क्याम्पस धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराई बताउँछन्।

‘विजया दशमीको टीका लगाउने मुख्य साइत ११ बजेर २ मिनेटमा छ, शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, उनी भन्छन्, ‘शुभ साइतमा टीका लगाउन प्रारम्भ गरेपछि जतिबेला पनि टीका लगाउन मिल्छ।’ घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३७ बजे रहेको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस