२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

आज महासप्तमी, दशैँघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै

४ कात्तिक, काठमाडौं । आश्विन शुक्ल पक्षको सप्तमी तिथि अर्थात् आज महासप्तमी। बोलीचालीको भाषामा यो दिनलाई फूलपाती भनिन्छ।

महासप्तमीको बिहान वा दिउँसो दशैँघर वा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ। यसलाई संस्कृत भाषामा नवपत्रिका भनिन्छ। केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ।

यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रमा देवीहरूको पूजा गरिन्छ। यो अवसरमा काठमाडौंको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याउने गरिन्छ।

गोरखा दरबारबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याउने परम्परा अहिले पनि कायम छ। फूलपातीकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले हर्षबढाइँ गर्छ। यसको अवलोकनका लागि राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य संवैधानिक अंगका प्रमुखको उपस्थिति रहन्छ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस