२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

साउदी अरब उडेको जहाज बीचबाट फर्केको घटनामा प्राधिकरणले गर्‍यो दुई व्यवस्‍थापकलाई कारबाही

काठमाडौं, असोज १९ । काठमाडौं बाट साउदी अरबको दमाम उडेको जहाज बीचबाटै फर्किएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई व्यवस्थापकलाई कारबाही गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उक्त जहाजको मर्मतमा संलग्न दुई व्यवस्थापकलाई तत्कालका लागि सेवाबाट निलम्बन गरिएको जानकारी दिए।

बुधबार राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल वायुसेवा निगमको आरए ४१२ जहाज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको थियो। जहाज पाकिस्तानको आकाशमा पुगेपछि ‘टिकास’मा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको थियो। जहाजमा उडानको क्रममा अन्य जहाज नजिक आयो भने टिकासले संकेत गर्छ।

प्रवक्ता निरौलाका अनुसार जहाज उड्नुअगाडि सम्पूर्ण पाटपूर्जा ठिक छ भनेर मर्मतमा रहेका व्यवस्थापकहरूले हस्ताक्षर गर्छन्। ‘उनीहरूले ठिक छ भनेर उडेको जहाज बीचबाटै फर्किएपछि उहाँहरूलाई केही समयका लागि निलम्बन गरी स्पष्टीकरण सोधेका छौं,’ उनले भने। बाँकी कारबाही प्रक्रियाबारे उनीहरूले स्पष्टिकरण बुझाएपछि निर्णय हुने निरौलाले बताए।

 

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस