२०८२ फाल्गुन २५ गते सोमवार | 2026 March 9th Monday

एसियाडमा नेपाललाई पहिलो पदक

Nepal in Asiad

काठमाडौं। चीनमा जारी १९ औँ एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा कम्तिमा कास्य पदक जित्ने पक्का गरेको छ। महिला कबड्डी सेमिफाइनल पुगेसँगै कम्तिमा कास्य पदक पक्का भएको हो। जारी एसियाडमा नेपालले एउटा पनि पदक जित्न सकेको छैन। समूहगत चरणको खेलमा बुधबार बिहान इरानले बंगलादेशलाई हराएपछि नेपाली महिला कबड्डी टोलीले सेमिफाइनल यात्रा तय गरेको हो।

सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तीमा कास्य पदक प्राप्त गर्ने टुङ्गो लागेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ । महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । “पहिलो सहभागितामै आफ्नो देशलाई पदक दिलाउन सफल भएका छौँ”, नेपाली महिला कबड्डी टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले चीनको हाङझाउबाट रासससित कुरा गर्दै भने, “महिला कबड्डी टोलीले विश्वमा नेपालको इज्जत बढाएको छ, जारी एसियाली खेलकुदमा मुलुकलाई पदकविहीन हुनबाट जोगाउन सफल भयौँ ।” सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदकमा मात्र सीमित नरहने उनको भनाइ थियो ।

नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । नेपाल र इरानसित पराजित भएको बङ्गलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । इरानले १८औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो । यस्तै महिला कबड्डीतर्फ समूह ‘ए’मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् । नेपालले अब समूह ‘ए’को विजेता टोलीसित सेमिफाइनल खेल्ने छ ।

 

 

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस