२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

एनआरएनए अध्यक्ष निर्वाचित बद्री केसीमाथि धाँधली गरेर चुनाव जितेको आरोप, परिणाम स्वीकार नगर्ने

NRNA president-elect Badri KC

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा निर्वाचित बद्री केसीमाथि धाँधली गरेर चुनाव जितेको आरोप लागेको छ। मतगणनाको नतिजा सार्वजनिक हुँदा महासचिवका उम्मेदवार केशव पौडेलको शून्य मत देखिएपछि अध्यक्षमा पराजित उम्मेदवार र महासचिवका उम्मेदवार लगायतले चुनावमा धाँधली भएको आरोप लगाएका हुन्।

‘मलाई लगभग ८० प्रतिशतले भोट हालेका छन्। तर शून्य देखाइयो,’ महासचिवका उम्मेदवार पौडेलेले भने, ‘म आफैंले हालेको भोट पनि देखाइएन।’ अध्यक्षमा निर्वाचित बद्री केसी यसअघि पनि अध्यक्ष हुन्। यसपालि आरके शर्मा र महेश श्रेष्ठ बद्री केसीसँग अध्यक्षको प्रतिस्पर्धामा थिए।

घोषणा गरिएको परिणामअनुसार बद्री केसी १३७८ मत ल्याएर विजयी भए। यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरे। पराजित भएका दुबै उम्मेदवारले आफूहरू निर्वाचन परिणाम अस्वीकार गर्ने बताएका छन्। उनीहरूले बद्री केसीले भोटिङ मेसिन कब्जा गरेर नियोजित रूपमा आफूहरूलाई हराइएको आरोप लगाएका छन्।

‘हामीलाई सुनियोजित रूपमा हराइएको हो। आफूले आफैंलाई भोट नहाल्ने भन्ने हुँदैन। एनआरएनएमा माफियातन्त्र हाबी भयो। यसको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ,’ उनले भने । उपाध्यक्षमा विजयी भएका खगेन्द्र न्यौपानेले पनि आफ्नो जित नस्वीकार्ने बताएका छन्। ‘मैले जितेको होइन, एनआरएनएले हारेको छ। यो जित म स्वीकार गर्दिनं,’ उनले भने। उनीहरूले यो अधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै अवैध रहेको बताएका छन्। ‘हामी यो कार्यसमितिलाई मान्दैनौं, तत्काल तदर्थ समिति बनाएर नयाँ कार्यसमिति चयन गर्छौं,’ पौडेलले भने।

 

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस