२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

जाजरकोट परकम्प : आठबीसकोटमा चारजना घाइते

काठमाडौं । सोमबार दिउँसो जाजरकोटमा गएको परकम्पको कारण रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका छन्।

दिउँसो ४ बजेर ३१ मिनेट जाँदा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प जाँदा आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका हुन्।

घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पुर्‍याएको नगरप्रमुख रवी केसीले जानकारी दिए। घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ। भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गरे।

सोमबार पनि जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन्।

यसअघि गत शुक्रबार राति जाजरकोटकै रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी अहिलेसम्म १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना घाइते भएका छन्। त्यसयता जाजरकोट केन्द्रबिन्दु भएर परकम्प जाने क्रम जारी छ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस