२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

काठमाडौं उपत्यकामा यसपालि रातिसम्म देउसी भैलो खेल्न पाइने

Deusi Bhailo can be played till night this year in Kathmandu Valley

काठमाडौं । यसपालि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) बाहेक अन्यत्र प्रशासनले सूचना जारी गरेर देउसी भैलो खेल्न समय तोकेका छन्। काठमाडौं महानगरका मेयर बालेन शाहले यसपालि राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने उल्लेख गर्दै गत शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए।

उनले नगर प्रहरीले सुरक्षाका लागि पेट्रोलिङ गर्ने र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह गरेका थिए। ‘विगतका वर्षमा कोभिड र सुरक्षाका कारण तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो। यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौं,’ मेयर शाहले भनेका थिए, ‘सोही अनुरूप नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं।’

मेयर शाहले देउसी भैलो राति १ बजेसम्म खेल्न पाइने उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेकै दिन काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले सूचना जारी गरेका थिए, जसमा विगतका वर्षहरूमा जस्तो देउसी भैलो खेल्न समय सीमा तोकिएको थिएन। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले देउसी भैलो खेल्ने समय तोक्दै यसपालि प्रशासनले सूचना जारी नगरेको बताए।

 

प्रकाशित मिति : २०८० कार्तिक २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस