२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

व्यवस्थाबाट पछाडि फर्कन लागे अर्को जुनी खेर जान्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट पछाडि फर्कने वा विकल्प खोज्नतिर लागे फेरि अर्को जुनी खेर जाने बताएका छन् । कांग्रेस अर्घाखाँची पहिलो जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले समस्याहरू हल गरेर जानुपर्ने बताए।

०५९ सालमा राजा ज्ञानेन्द्र शाहले नेताहरूलाई थुनेर देश चलाउँछु भन्दा काठमाडौंमा दीपावली गर्ने जनता ०६२ को चैत पुग्दा नपुग्दै सडकमा आएको बताए । राजाको कु गरेको ३ वर्ष पनि नथेगिएको र नेपालको ठुलो समय धेरै खेर गएको उनले बताए ।राजा महेन्द्रले ०१७ सालमा बिपी कोइरालालाई थुनेर नेपालको ३० वर्ष खेर फालेको थापाले बताए।

‘मलाई केबल १५ वर्ष भए पुग्छ भनेर सपना देख्ने बिपी कोइरालालाई राजा महेन्द्रले नथुनेको भए आज संवैधानिक राजतन्त्र चाहियो भन्दै गर्दा संवैधानिक राजतन्त्र कहाँ जान्थ्यो, कहीँ जाँदैनथ्यो,’ थापाले भने, ‘बेलायतमा छ, नेपालमा पनि रहन्थ्यो। तर किन थुनेको बिपीलाई ? किन नेपालको ३० वर्ष खेर फालेको ? कसको कारणले यो अवस्था आएको ? ’

उनले व्यक्तिको गल्तीको भारी व्यवस्थालाई बोकाउन नहुने बताए। ‘गल्ती र कमजोरीहरू भएका छन्। सच्याउने हो,’ थापाले भने, ‘तर यो गल्तीको भारी व्यवस्थालाई बोकाएर हुँदैन। हाम्रो आस्थालाई बोकाएर हुँदैन। समस्या जहाँ छ, त्यहीँ सुधार गर्नुपर्छ।’

 

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस