२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई धरौटीमा छाड्न आदेश

Order to release Haj Committee Chairman Shamsher Mian on bail

१५ मंसिर, काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मियाँलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो ।

अदालतले जाहेरी दर्खास्तको व्यहोरा र घटना कागज गर्ने पीडितहरूको कागजमा मियाँले ठगी गरेको वा उनीहरूबाट रकम दिएको नदेखिएको भनेको छ । ‘प्रतिवादी अधिकार प्राप्त अधिकारी तथा अदालत समक्ष बयान गर्दा अभियोग दाबीको कसूरमा पूर्णतः इनकार छन्’, आदेशमा भनिएको छ, ‘सहप्रतिवादीहरुको बयानबाट प्रतिवादी मियाँको कसूरमा संलग्नता रहेको समर्थित नभएको अवस्थामा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने गरी भएको अदालतको आदेश बेरितको देखिंदा बदर गरिदिएको छ ।’

प्रहरीले उनलाई भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा ४ जेठमा पक्राउ गरेको थियो । मियाँको गाडी यो मामलामा पक्राउ परेकाहरुले प्रयोग गरेको अनुसन्धानका क्रममा खुलेको थियो । त्यही आधारमा प्रहरीले मियाँलाई पनि पक्राउ गरेको थियो । मियाँसहित १६ जनालाई १ असारमा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो । त्यसपछि केन्द्रीय कारागार सुन्धारामा थिए ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस