२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सरकारसँग छैन रुसी सेनामा हुने नेपालीको तथ्याङ्क, प्रधानमन्त्री भन्छन् : २०० भन्दा बढि छन्

काठमाडौं । सरकारले रुसी सेनामा हुने नेपालीको तथ्याङ्क आफूसँग नभएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले यस्तो बताउनु भएको हो । उहाँका अनुसार आधिकारिक नभएपनि करिब दुई सय नेपाली सैनिकहरू रूसी सेनामा भर्ती भएको प्रारम्भिक जानकारी छ । अहिलेसम्म ६ जनाले ज्यान गुमाएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

प्रेस सेन्टर नेपालले गरेको केन्द्रीय पदाधिकारीहरूको बैठकमा दाहालले यस सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको जानकारी समेत गराउनुभयो । उहाँले रुसी सेनामा मात्र नभई युक्रेनमा पनि नेपालीहरू गएको उल्लेख गर्दै छिट्टै आधिकारिक जानकारी गराउने विश्वास दिलाउनुभयो । अर्को प्रसङ्गमा, प्रधानमन्त्रीले इजरायलमा हमासले गरेको हमलाका समयमा हमासको नियन्त्रणमा रहेका विपिन जोशीको सफल रिहाइका लागि सरकारले पहल गरेको पनि उल्लेख गर्नुभयो ।

यस्तै उहाँले झुटो प्रचार रोक्ने र जनतालाई सही सूचना दिने सञ्चार क्षेत्रको महत्वपूर्ण जिम्मेवारी भएको बताउनु भएके छ । पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्र नरुचाउने तत्वले सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल, कपोलकल्पित र झुटो प्रचार गरिरहेको हुनाले भ्रामक सूचनाका विरुद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह पनि गर्नुभयो । सरकारले राष्ट्र, जनता, संविधान र लोकतन्त्रका पक्षमा दृढतापूर्वक काम गरिरहेको दाबी पनि उहाँको छ । सरकारले थालेका जनपक्षीय कामबाट आत्तिएका शक्तिले अनावश्यक भ्रम फैलाएको आरोप पनि उहाँले लगाउनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस