२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

होली पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा र मित्रतालाई बढावा दिने गर्दछ : मन्त्री भगबती चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ। होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै मन्त्री भगबती चौधरीले यस पर्वले एकअर्का प्रति माया, प्रेम र सद्भाव प्रकट गर्दै सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्ने बताउनुभयो।

आज (आइतबार) पहाडी जिल्लाहरु र भोलि (सोमबार) तराईका जिल्लाहरुमा धुमधामका साथ मनाईने होलीले सामाजिक सद्भाव, आपसी भाइचारा र मित्रतालाई बढावा दिने गर्दछ । सामुहिक रुपमा एकअर्का प्रति माया, प्रेम र सद्भाव प्रकट गर्दै रंगहरु साटासाट गरेर खेलिने पर्वले राष्ट्रिय एकता, सामाजिक, सांस्कृतिक, पारिवारिक सद्भावलाई बढावा दिने विस्वास लिएको छु। तथापि, पछिल्लो समय चाडपर्व मनाउने नाममा केही विक्रिति विसंगति पनि भित्रिएका छन्।जथाभावी जवरजस्ती रंग लगाउने, लोला हान्ने लगायतका कार्यले सामाजिक सद्भाव खल्बलिने गर्दछ । यस्ता कृयाकलाप रोक्नु राज्यको मात्र हैन आम नागरिकको पनि कर्तव्य हो । फागु पुर्णिमाको अवसरमा सम्पूर्ण देश विदेशमा रहनु हुने नेपालीजनमा सुखः शान्ति र समृद्धिको कामना सहित शुभकामना व्यक्त गर्दछु । शुभकामना सन्देशमा उँहाले भन्नुभएको छ, ‘होलीपर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण नेपालीहरूमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु ।

होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो। हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए।


हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए। एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ।

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस