२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

महिला, बालबालिका मन्त्री द्वारा बिराटनगर स्थित बाल सुधार गृह निरिक्षण : तत्काल सुधार गर्न यस्तो निर्देशन हेर्नुहोस्

सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बिराटनगर स्थित बाल सुधार गृहको समुचित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । क्षमता भन्दा बढी व्यक्तिहरु राखिएको लगायत समुचित व्यवस्थापन नभएको भन्दै मन्त्री चौधरीले बाल सुधार गृहको व्यवस्थापन तत्काल सुधार्न निर्देशन दिनु भएको हो ।

शुक्रबार बाल सुधार गृहको निरिक्षणमा आउनु भएको मन्त्री चौधरीले क्षमता भन्दा बढी व्यक्तिहरु राखिएको, खानपान, शिक्षा, स्वास्थ्य लगायतमा गुनासोहरु आइरहेको जनाउँदै तत्कालै सुधार्न सकिने विषयहरु सुधार्न निर्देशन दिनुभयो । ‘सुधार गृह भनेको विगतको अपराध लाई विर्सेर नयाँ सद्मार्गमा लाग्न प्रेरित गर्ने हुनुपर्छ । बाल गृहमा आएकाहरुको जीवन कसरी सुधार्न सकिन्छ त्यस अनुरुप वातावरण निर्माण गरिनुपर्छ ।’ बाल सुधार गृहलाई कैदीबन्दीहरु बस्ने कारागार जस्तो बनाउन नहुने भन्दै मन्त्री चौधरीले आगामी आर्थिक वर्षको बजेटमा बाल सुधार गृहरुको स्तरोन्नतीका लागि बजेट छुट्याउने पनि बताउनु भयो ।

त्यस्तै मन्त्रै चौधरीले बाल गृहमा रहेका बालकहरुलाई सीपमुलक तालिममा जोड्ने, उच्च शिक्षा अध्ययन गर्न पहल गर्ने पनि बताउनु भयो । ‘सुधार गृहबाट निस्किएपछि तपाईहरु पुनः पहिलेकै अपराधको बाटोमा नलाग्नु होस् भन्नेमा म सचेत छु । आउँदा दिनमा सिटिइभिटीसँगको सहकार्यमा विभिन्न सीपमुलक तालिमहरु दिने, उच्च शिक्षा अध्ययन गर्न पाउने वातावरण निर्माण गर्न पहल गर्नेछु ।’ मन्त्री चौधरीले भन्नु भयो । उहाँले सुधार गृहमा रहेकाहरुलाई सद्मार्गमा लाग्न प्रेरित गर्नु भयो ।

मन्त्री चौधरीसँगै बाल अधिकार परिषद्की सदस्य सचिव इन्दीरादेवी ढकाल लगायतले सुधार गृहको निरिक्षण गर्दै तत्कालै सुधार्न सकिने विषयहरु पहिल्याउन लाग्ने बताए । बाल सुधार गृहमा विभिन्न कसुर गरी सुधारका लागि २०६ जना बालकहरु रहेका छन् ।

सोही क्रममा मन्त्री चौधरीले हराएका बालबालिकाहरुको खोजतलास गर्ने निकाय बालबालिका खोज तलास समन्वय केन्द्र १०४, कोशी प्रदेशको कार्यालय समेत निरिक्षण गर्दै आवश्यक भौतिक पूर्वाधार निर्माणमा बजेट छुट्याउने बताउनु भयो ।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस