२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

काठमाडौंबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना

Road Accident

काठमाडौं, वैशाख ८ । धनकुटामा माइक्रोबस दुर्घटना भएको छ। काठमाडौंबाट संखुवासभा जाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रोबस शनिबार बिहान २ बजे धनकुटा नगरपलिका-२ रूद्रबारी भन्ने स्थानमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर अनीलकुमार साहका अनुसार तीव्र गतिका कारण अनियन्त्रित भएपछि माइक्रोबस घुम्ति सडकबाट अन्दाजी ७५ मिटर तल खसेको हो।

दुर्घटनामा परी चालक र एक बालकसहित २१ जना घाइते भएको उनले जानकारी दिए। बिहान सवा २ बजे दुर्घटनास्थल पुगेको प्रहरीले बिहान साढे ४ बजेसम्म घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। सामान्य घाइते भएका तीन जनालाई जिल्ला अस्पताल पुर्‍याइएकोमा तीनै जना डिस्चार्ज भइसकेको इन्स्पेक्टर साहले जानकारी दिए।

बाँकी घाइतेहरूलाई भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। दुर्घटना भएको माइक्रोबस भीरमै छ। क्रेन ल्याउनेबारे समन्वय भइरहेको इन्स्पेक्टर साहले जानकारी दिए। दुर्घटनामा घाइते भएका चालक हरिशरण आलेमगर डिस्चार्ज भइसकेको र उनलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको इन्स्पेक्टर साहले जानकारी दिए।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस