२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

काठमाडौं महानगरले १८ ठाउँमा वायु प्रदूषण मापन यन्त्र जडान गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले १८ ठाउँमा वायु प्रदूषण मापन यन्त्र जडान गर्ने भएको छ।

उपप्रमुख सुनिता डङ्गोलले मंगलबार महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन, काठमाडौं प्लाजाको सडकतर्फ उपकरण जडान गरी यो कार्यको आरम्भ गरिन्।

उपकरण राखेपछि उपप्रमुख डङ्गोलले, महानगरपालिकाले आन्तरिक कार्यक्रम र साझेदारसँगको सहकार्यबाट प्रदूषण न्यूनीकरणका लागि काम गरिरहेको बताइन्। उनले प्रदूषणबाट आर्थिक, सामाजिक, वातावरणीय तथा विकास क्षेत्रमा पारेको असर घटाएर स्वास्थ्य शहर निर्माण गर्न धुलोरहित महानगर कार्यक्रम कार्यान्वयनमा रहेको बताइन्।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पार्टनरसिप फर हेल्दी सिटिजनसँगको सहकार्यमा वायु गुणस्तर निगरानी उपकरण जडान गर्न लागेको हो।

विश्व स्वास्थ्य संगठनले पीएम २.५ को वार्षिक औसत ५ माइक्रो ग्राम प्रतिघन मिटर हुनुपर्ने भनेको छ। पीएम २.५ भनेको वायुमण्डलमा पाइने साना कण हुन्। यी कणहरू सजिलै फोक्सोमा पुग्न र रक्त प्रवाहमा मिसिन सक्छन्। यसैकारण श्वासप्रश्वास तथा हृदयसम्बन्धी र अन्य विभिन्न दीर्घ रोग उत्पन्न गराउँछ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस