२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

अस्पताल नपुर्‍याउँदै श्रीमतीसँगै अस्ताए तिलकराम

"Tilakram Passes Away with Wife Before Reaching Hospital"

रुपन्देही । शुक्रबार राती घरमा श्रीमती बिरामी भएपछि बुटवल १२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनालले तत्काल छोराहरूलाई खबर गरे । हतारहतार अस्पताल लैजान छोराले नै गाडीको व्यवस्था गरे । दमको बिरामी रहेकी उनकी श्रीमती ६७ वर्षीय गौरी खनाललाई छोराको गाडीमा राखेर हतारहतार बुटवलस्थित साझा अस्पतालमा लैजान हिँडालियो । तर ४ किलोमिटरको दुरीमा रहेको अस्पतालमा पुग्न ५ सय मिटर नजिकै बुटवलको तिनाउ पुलमा उनीहरु चढेको बलेरो जिप अनियन्त्रित भई पल्टिँदा न त तिलकरामले श्रीमतीलाई अस्पताल पुराउन पाए न त श्रीमती गौरी जीवित रहिन् ।

रातीमा हतारमा अस्पताल दौडाउँदै गर्दा पुल नजिकैको डिभाइडरमा गाडी ठोक्किँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । यो घटनामा तिलकराम, उनकी श्रीमती गौरीसहित जिप चालक ३२ वर्षीय हरि न्यौपानेले ज्यान गुमाएका हुन् । कपिलवस्तु निवासी न्यौपाने तिलकरामका छोराको साला हुन् । घरमा गौरीलाई दमले च्यापेपछि उनका कान्छा छोरा विशाल खनाल मोटरसाइकलमा पहिले नै साझा अस्पताल पुगेर टिकट र डक्टरको व्यवस्था गरेर कुरेका थिए ।

तर त्यो जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जनाए । पश्चिमबाट बुटवल पुग्दै गर्दा पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनको भनाइ छ । तिलकरामका माइला छोरा ज्ञानप्रसादले बेलबासमा अर्घाखाँची क्याटरिङ चलाइरहेका छन् । सोही गाडीमा उनीहरूलाई अस्पताल लगिँदै थियो ।

तीन छोरा र एक छोरीका बुवाआमा रहेका तिलकराम र गौरी छोराहरूले तराईमै व्यवसाय गर्न थालेपछि १० वर्षअघि रुपन्देही झरेका थिए । उनीहरुका जेठा छोरा रामप्रसाद, माइला ज्ञानप्रसाद र कान्छा विशाल तथा छोरी सुशीला रहेका छन् । उनीहरु करिब ५० वर्षअघि विवाह गरेका थिए तर दुर्भाग्य गएराती एकै पटक ज्यान गुमाए । घटनापछि शोकाकुल आफन्त, छिमेकीले उनीहरूलाई कपिलवस्तुको लक्ष्मण घाटमा एकै सोलामा अन्त्येष्टि गरेका छन् । दाहसंस्कारमा सहभागी छिमेकी दाजुभाइ गोविन्द खनालले उनीहरुको एकै सोलामा राखेर अन्त्येष्टि गरेको बताए ।

‘निकै अपत्यारिलो दुःखद घटना भयो, म नै अध्यक्ष रहेको साझा अस्पतालमा आमा गौरीको उपचारका लागि कान्छा छोरा विशालले पहिले गएर टिकट लिएर डाक्टरलाई बोलाएर राखेका थिए, तर त्यति सिरियस बिरामी बाटोमा ४ किलोमिटरको दुरीमा १५ मिनेट रोकिएपछि फोन गरियो, कसैको फोन उठेन अनि खोज्दै जाँदा यस्तो घटना देखियो’ उनले सुनाए । हतारमा बिरामीलाई अस्पताल पुर्‍याउन गाडीको दौडाई र पुल कटेपछिको थोरै घुमाउरो बाटोमा गाडी नियन्त्रण हुन नसकेको देखिन्छ, यो घटनाले हामीलाई ठूलो पीडा दिएको छ’ उनले भने–‘रातीमा विपरीत दिशाबाट गएको गाडीले फोकस लाइट नमारेर पनि यस्तो हुनसक्छ । उनीहरुको अन्त्येष्टिमा गएका बसन्तराज खनालले सँगै जिउने कसम खाएका जोडीलाई यसरी एकै पटक अन्त्येष्टि गर्नुपर्दा निकै पीडा भएको सुनाए ।’

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस