२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकन गर्न चौथो चरणको वार्ता छिट्टै गर्ने सहमति

India will buy additional 251 MW electricity from Nepal

२९ पुस, काठमाडौं । नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनका लागि चौथो चरणको वार्ता छिट्टै गर्ने सहमति दुई मुलुकबीच भएको छ । नेपाल–भारत वाणिज्य सचिव स्तरीय अन्तरसरकारी समिति (आईजीसी) बैठकले यस्तो निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बैठकमा दुवै पक्षको सहमतिमा तयार भएका व्यापार सन्धि २००९, पारबहन सन्धि २०२३ र अनधिकृत व्यापार नियन्त्रण सम्झौता २००९ अन्तर्गतका विभिन्न विषयमा बृहत छलफल भएको हो ।

सोही क्रममा खासगरी नेपाल–भारतबीच वाणिज्य सन्धि पुनरावलोकन गर्ने विषयमा चौथो चरणको वार्ता छिट्टै गर्ने सहमति भएको हो । पारवहन सन्धि कार्यान्वयनमा ल्याउन नेपालद्वारा प्रेषित ‘लेटर अफ एक्स्चेन्ज’ लाई छिट्टै निष्कर्षमा पुर्‍याउने सहमति समेत भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा उत्पादित वस्तु भारतमा निकासी गर्न आवश्यक पर्ने बीआईएस प्रमाणपत्र प्राप्ति प्रक्रिया छिटो छरितो बनाउने सहमति समेत दुई मुलुकबीच भएको छ । भारतीय लगानीमा नेपालमा निर्माणाधीन आयोजनामा आवश्यक उपकरण तथा अन्य सामग्री आयात सहजीकरण गर्ने, नेपालमा उत्पादन नहुने पशुजन्य खाद्यपदार्थ भारतबाट हुने आयात सहजीकरण गर्ने सहमति दुई देशबीच भएको छ ।

यसैगरी नेपालको गुणस्तर तथा तापतौल विभाग र भारतको ब्युरो अफ इन्डियन स्ट्यान्र्डर्ड तथा नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड अथोरिटीबीच पारस्परिक सहयोग अभिवृद्धि गरी वस्तुको गुणस्तर निर्धारण तथा परीक्षण, प्रमाणीकरण र पारस्पारिक मान्यता प्रक्रिया अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ । औषधि आयात निर्यात व्यवस्थित गर्ने, भन्सार प्रक्रिया सहजीकरण गर्ने र दुवै पक्षका विषयगत संयन्त्र मार्फत सम्बन्धित विषय समयमै टुङ्ग्याउँदै जाने विषयमा समेत सहमति भएको छ ।

मन्त्रालयका अनुसार व्यापार तथा लगानीका हिसाबले महत्त्वपूर्ण साझेदारका रूपमा रहेका नेपाल–भारतबीच विद्यमान संयन्त्र थप क्रियाशील बनाइ नियमित छलफल तथा बैठक गरी दुवै पक्षको हित प्रवद्र्धन हुने गरी अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।

 

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस