काठमाडौं । सर्बियाका प्रधानमन्त्री मिलोस वुसेभिकले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनीविरुद्ध गत नोभेम्बर महिनादेखि नै विरोध प्रदर्शन भइरहेको थियो।
प्रधानमन्त्री वुसेभिकले परिस्थितिलाई झन् जटिल बन्न नदिन आफ्नो राजीनामाको निर्णय गरेको बताएका छन् । नोभेम्बर महिनामा सर्बियाको दोस्रो ठूलो शहर नोवी सादस्थित रेलवे स्टेशनको एक हिस्सा भत्किँदा १५ जनाको मृत्यु भएको थियो। यस घटनापछि प्रत्येक दिन स्थानीय समयअनुसार बिहान ११ बजेर ५२ मिनेटमा १५ मिनेटका लागि यातायात बन्द गरिन्छ। दुर्घटना ठीक यही समयमा भएको थियो।
दुर्घटनापछि हालसम्म यो प्रकरणमा कम्तीमा १२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्बियाका पूर्व निर्माण मन्त्री पनि छन्। उनले घटना भएको केही दिनपछि राजीनामा दिएका थिए तर आफू दोषी नभएको दाबी गरेका थिए।
यो विरोध प्रदर्शनका कारण सर्बिया युरोप महाद्वीपमा व्यापक चर्चामा रहेको छ। नोभेम्बर महिनामा बेलग्रेड विश्वविद्यालयका विद्यार्थीहरूले यो घटनाको विरोधमा प्रदर्शन सुरु गरेका थिए। विस्तारै यो आन्दोलन ५० भन्दा बढी विश्वविद्यालयका विभागहरू र विद्यालयसम्म फैलिएको थियो। गत आइतबार हजारौं मानिस बेलग्रेडका सडकमा उत्रिएर दुर्घटनाको जिम्मेवारी तोक्न माग गरेका थिए।

