काठमाडौं। वैदेशिक रोजगारीका नाममा अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका(१ का २५ वर्षीय भुवन कार्की र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका(३ का ४२ वर्षीय नितेश पोखरेल रहेका छन्।
भुवनले अमेरिका पठाइदिन्छु भन्ने भन्दै तीन जनाबाट १ करोड रूपैयाँ ठगी गरेका थिए भने नितेशले क्यानडा पठाइदिन्छु भन्ने बहानामा चार जनाबाट १२ लाख रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। पीडितहरूले गरेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले भुवनलाई काठमाडौं महानगरपालिका(१२ बाट सोमबार र नितेशलाई कागेश्वरी मनोहरा नगरपालिका(३ बाट मंगलबार पक्राउ गरेको हो।
भुवनलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ, जबकि नितेशलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको छ।

