काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा सामूहिक बेल विवाह सम्पन्न भएको छ। ईहि यज्ञ (सुवर्ण कुमार बेल विवाह) गुठीले २०२९ सालदेखि निरन्तरता दिएको यो परम्परा यस वर्ष पनि जारी राखिएको हो। आइतबार र सोमबार गरी दुई दिन नेवार समुदायका ७२ कन्याहरूको सामूहिक बेल विवाह गरिएको गुठीले जनाएको छ।
नेवार समुदायमा बेल विवाह महत्त्वपूर्ण संस्कार हो, जुन रजश्वला हुनुअघि कन्याको बेल विवाह गर्ने परम्परा अनुसार सम्पन्न गरिन्छ। यो कर्म नेवार समुदायकै पण्डित र पुरोहितहरूबाट गराइएको थियो।
गुठीका अग्रज सदस्य हरिशरण श्रेष्ठका अनुसार, यस सामूहिक बेल विवाहले मौलिक परम्परा अनुसार कर्म गर्न र अभिभावकहरूलाई सहज बनाउने उद्देश्य राखेको छ। ५३ वर्षसम्म यो संस्कार सबैको सहयोग र विश्वासका कारण निरन्तर चलिरहेको छ। यस वर्ष पनि मकवानपुर जिल्ला र बाहिरका कन्याहरू सहभागी भएका थिए।

