काठमाडौं। अमेरिकाको ओहायो राज्यको न्यु अल्वानीमा बसोवास गर्दै आएका ३० वर्षीय नेपालीभाषी भुटानी नागरिक शेखर चापागाईको मङ्गलबार राती हत्या भएको छ ।
न्यु अल्वानी प्रहरीका अनुसार, चापागाईको हत्या त्यही कम्पनीका पूर्वकर्मचारी २८ वर्षीय व्रुस फोस्टरले अन्धाधुन्ध गोली चलाएर गरेको हो। गोली लागेर चापागाईको सहकर्मी क्याले वेभरको पनि मृत्यु भएको र अरू चार जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घटना केडीसी वान नामक कस्मेटिक र ब्युटी उत्पादन कम्पनीको कार्यालयमा घटेको हो। हत्यारालाई प्रहरीले बुधबार बिहानै गिरफ्तार गरेको छ।
चापागाई केही वर्ष अघि डेनवरबाट ओहायो स्थानान्तरण भएका थिए। मृतक चापागाईकी श्रीमती र एक छोरी रहेको बताइएको छ। प्रहरीले भने, आगामी एक दुई हप्तामा उनकी श्रीमतीले अर्को सन्तानलाई जन्म दिनेछिन्।
त्यो कम्पनीमा १५० भन्दा बढी कर्मचारी कार्यरत छन्, जसमा धेरै नेपाली काम गर्छन्।

