२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

अब नेपालमै २७ फिट अग्लो नवग्रह मन्दिर बन्दै, दर्शन र पूजाआजा गर्न गणेश चतुर्दशी कुर्नुपर्ने

२८ माघ , काठमाण्डौँ । अब नेपालमै नवग्रह मन्दिरको दर्शन तथा पूजाआजा गर्न पाइने भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा नेपालमै पहिलो पटक नवग्रह मन्दिरको निर्माण भए लगत्तै नवग्रह मन्दिरको दर्शन तथा पूजा गर्न पाइने भएको हो ।

प्रायः जसो घरमा नवग्रह पूजा हुने गर्दछ तर, नवग्रहको विधिवत् पूजा हुने शक्ति पीठ नेपालमा अहिलेसम्म नभएको र अर्जुनचौपारीमा उक्त मन्दिर निर्माण अन्तिम चरणमा पुगेको पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

विभिन्न शक्तिपीठहरुमा एक छेउमा नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिए तापनि देश विदेशमा सिद्धी प्राप्त योगीहरूले यो ठाउँमा नवग्रह मन्दिर निर्माण गर्नु अत्यन्तै उपयुक्त हुने सल्लाह बमोजिम उनीहरूकै सुझाव अनुसार यस क्षेत्रमा नवग्रहको मन्दिर निर्माण गरिएको उनले बताए ।

छिमेकी राष्ट्र भारतमा छुट्टै नवग्रह मन्दिर भए तापनि नेपालमा ग्रहकै मात्र पूजा हुने मन्दिर छैनन् । नवग्रह नौ आकाशीय पिण्डको मन्दिर भारतको असमको चित्रसालको पहाडमा मात्र रहेको छ । मन्दिर भारतको आसामको भन्दा फरक रहेको र यहाँ बन्ने नवग्रह मन्दिर विश्वमै पहिलो भएको पालिका अध्यक्ष तिवारीको दाबी छ । यसरी बन्न लागेको नवग्रह मन्दिरको छेउछाउमा पिपल रोपिएको हो ।

नवग्रह मन्दिरको मुख्य स्तम्भ नवभुज आकारको हुनेछ । २७ फिट माथितिर फर्केको अग्लो ब्रह्माणीय मूर्तिको अवलोकन प्रत्येक वर्षको गणेश चतुर्दशीमा मात्र दर्शन गर्न पाइनेछ । नवग्रह मन्दिरसँगै बनाइएको षट्कोणको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिव लिङ्ग राखिने र अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमान र दुर्गा भवानीको मूर्ति राखिएको । मन्दिरको एक ठाउँबाट छिरेपछि ९ चक्रमा रहेका नवग्रह मन्दिरलाई ९ परिक्रमा सहितको पूजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने गरी निर्माण गरिएको छ । नौ वटा भुजा रहने पिल्लरमा १३ फिटमा नौ वटा ग्रहका प्रतीक रहेका छन् भने त्यसमाथि नवभुज आकारको १४ फुटको पिल्लर छन् ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस