२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

बर्दीमै भिडियो, फोटो बनाएर सामाजिक सञ्जालमा हाल्ने १२० जना शसस्त्र प्रहरीलाई कारवाही

काठमाडौं । सशस्त्र प्रहरी बल ९एपीएफ० ले संगठनको निर्देशनविपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलापका तस्बिर तथा भिडिओ बनाई अपलोड गरेका १२० जनालाई विभागीय कारवाही गरेको छ । उनीहरूले एपीएफको बर्दी लगाई भिडिओ तथा तस्बिर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर [एक्स], इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याटलगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाइएको एपीएफका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

विभागीय कारवाही परेकाहरूमा सई ४ जना, असई ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ रहेका छन् । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गरिएको बताइएको छ ।

प्रवक्ता न्यौपानेले सामाजिक सञ्जालमा अमर्यादित ढंगको तस्बिर तथा भिडिओ बनाई अपलोड गर्ने २८ जना कर्मचारीलाई विभागीय कारवाही गरी सोको विवरण खुलाएर पठाउन पनि निर्देशन दिइएको बताए । कारवाही निर्देशन दिइएकोमा असई ६ जना, सहायक हवल्दार १ जना र जवान २१ जना छन् । संगठनको नियम विपरीत कार्य गर्ने जुनसुकै दर्जाका कर्मचारीलाई नियमन गर्न एपीएफमा सामाजिक सञ्जाल अनुगमनसम्बन्धी शाखा स्थापना गरिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस