२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

घरको आँगनबाटै चितुवाको आक्रमणमा परेर २ वर्षीय बालकको मृत्यु

रुपन्देही । बर्दियाको मधुवन नगरपालिका–९ स्थित भाटचोकमा शनिवार साँझ करिब ७ बजे चितुवाको आक्रमणबाट २ वर्षीय बालक रिहान चलाउनेको मृत्यु भएको छ। घटनाको समयमा बालक आँगनमा खेलिरहेको थियो। जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्तिमगरका अनुसार, चितुवाले बालकलाई टिपेर लगेको थियो। राति सवा ९ बजे घरबाट करिब ५ सय मिटर टाढा बालकको शव भेटिएको थियो।

शवको घाँटी र टाउको पछाडिको भागमा चोट लागेको पाइएको छ। प्रहरीले घाउखतको विश्लेषण गरी चितुवाको आक्रमण भएको निष्कर्षमा पुगेको छ। घटनाको समयमा बालकको आमा रचना घरभित्र थिइन्। छोरा नदेखेपछि उनले हारगुहार गरेकी थिइन्।

गाउँलेहरू र प्रहरीले खोजी अभियान चलाएपछि मात्र बालकको शव भेटिएको हो। रचना शनिवार मात्रै छोरालाई लिएर बर्दियास्थित सानीआमा जमुना कँडेलको घर गएकी थिइन्। उनको घर बाँकेको राप्तिसोनारी गाउँपालिका–५ मा पर्छ। आइतबार बालकको शवको पोष्टमर्टम गरी आफन्तलाई बुझाइने प्रहरीले जानकारी दिएको छ। यस घटनाले स्थानीय समुदायमा दुःख र आतंक फैलाएको छ ।

चितुवाको आक्रमणबाट बालकको मृत्युले वन्यजन्तु र मानव बीचको सहअस्तित्वको चुनौतीलाई पनि उजागर गरेको स्थानीयले जनाएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस