२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

पशुपतिनाथ क्षेत्रमा शिवरात्रिमा मासु, मदिरा र अन्य नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध

१२ फाग्ुन, काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथ क्षेत्र र त्यसवरपर शिवरात्रिमा मासु, मदिरा र अन्य नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध गरेको छ । महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाउन भन्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मासु, मदिरा तथा नसालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने गरी रोक लगाउने गरी सूचना जारी गरेका हुन्।
यस सूचनाको उल्लंघन गरेमा कानुनी कारबाही गर्ने चेतावनीसमेत सूचनामा दिइएको छ ।

आइतबार जारी सूचनामा लेखिएको छ, ‘महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाई भव्य एवम् दिव्य रूपमा सम्पन्न गर्न भगवान श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्रको सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्य समेतलाई मध्यनजर गरी यही मिति २०८१ र११ र१२ गतेदेखि २०८१र११र१५ गतेसम्मका लागि देहायका चार किल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नसालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम पूर्णरूपमा रोक लगाइएको छ। कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारबाही भइजाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ।’

चार किल्लामा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क, उमाकुण्ड, गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भाग तोकिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस