काठमाडौं। नेपाल सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि आवश्यक उमेर हद बढाउने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो परिवर्तनका लागि सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ को मस्यौदा तयार पारेको छ।
हालको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा मोटरसाइकल, दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको चालक अनुमति पत्र लिन १६ वर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान छ। तर, नयाँ ऐनको मस्यौदामा यो उमेर हद बढाएर १८ वर्ष कायम गर्ने प्रस्ताव गरिएको मन्त्रालयले बताएको छ।
यसैगरी, ठूला सवारी साधनको चालक अनुमति पत्रका लागि हाल २१ वर्ष उमेर आवश्यक रहेकोमा अब २३ वर्ष बनाउने प्रस्ताव अघि सारिएको छ। त्यस्तै, मझौला र साना सवारी साधनको चालक अनुमति पत्र लिन १८ वर्षको सट्टा २१ वर्ष उमेर हद तोक्ने मस्यौदा तयार भएको छ। मन्त्रालयका अनुसार यी परिवर्तनले सवारी सञ्चालनमा थप जिम्मेवारी र सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

