सर्लाहीको कौडेना गाउँपालिका–६, सक्रौलमा एकै रात पाँचवटा घरमा चोरी भएको छ। शुक्रबार राति चोरको समूहले श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायको घरमा हात हालेका हुन्।
पीडितका अनुसार चोरहरू घरभित्र रहेका गरगहना, नगदलगायतका सरसामग्री लिएर फरार भएका छन्। कतिपय स्थानीयले चोरहरू आँखा छोपिने नसालु पदार्थ छर्केर लुटपाट गरेको आशंका गरेका छन्। चोरीपछि कपडा र बाकसजस्ता सामग्री घरबाट केही टाढा फालिएको अवस्थामा फेला परेको छ।
यसअघि फागुन १२ गते पनि सोही गाउँमा यस्तै चोरी भएको थियो। बारम्बार चोरीका घटना बढ्दै गएपछि स्थानीय आतङ्कित बनेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले घटनास्थलमा प्रहरी टोली पठाएर अनुसन्धान थालिएको बताएका छन्।
प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार

