काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले टोखाबाट गुड्डु पटेललाई गोली हानेर पक्राउ गरेको छ। उनी दुई वर्षअघि गोठाटारमा लाल मोहम्मदमाथि गोली प्रहार भएको घटनाका फरार सुटर भएको खुलेको छ।
एसएसपी रमेश बस्नेतका अनुसार, पटेल नेपाल आएको सूचना पाएपछि प्रहरीले उनलाई पछ्याइरहेको थियो। पक्राउ गर्ने क्रममा पटेलले प्रहरीमाथि आक्रमण गरेपछि सुरुवातमा दुई राउण्ड हवाई फायर गरिएको थियो। स्थितिलाई नियन्त्रणमा लिन थप गोली चलाउँदा उनी घाइते भएका छन्। हाल उनको उपचार भइरहेको छ।
२०७९ असोज ३ मा गोठाटारमा मोहम्मदमाथि गोली प्रहार गरिएको थियो। भारतीय सुरक्षा निकायले उनलाई नक्कली नोट कारोबारमा संलग्न भएको बताउँदै आएको छ। मोहम्मदमाथिको आक्रमण भारतीय सुपारी किलरमार्फत भएको खुलेको थियो।
अनुसन्धानका क्रममा मोहम्मदको गतिविधि लामो समय रेकी गरिएको, हत्याको प्रयासका लागि वीरगञ्जबाट सुटर पठाइएको, हतियार आपूर्ति गरिएको र सुपारी किलरहरू गेष्ट हाउसमा बसेको पत्ता लागेको थियो। यस घटनाका योजनाकार बब्लु पासवान यसअघि नै पर्सामा पक्राउ परिसकेका छन्।
यो पक्राउसँगै मोहम्मदमाथि भएको आक्रमणका मुख्य सुटरमध्ये एक प्रहरी नियन्त्रणमा आएको छ।

