काठमाडौं । शहरी विकास मन्त्रालयले १० हजार सिट क्षमताको प्यारापिट र ६ वटा फ्लड लाइट २०८२ वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा सम्पन्न गर्ने घोषणा गरेको छ। फागुन २०८१ मा सम्झौता साइन भएपछि निर्माण कार्य अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अघि बढिरहेको छ।
प्यारापिट चोभार एन्डमा बनाइँदैछ । जहाँ छाना नभइ सिट जडान गरिनेछ। प्रत्येक फ्लड लाइटमा करिब ७० वटा लाइट हुनेछ । फ्लड लाइटहरूको जडान नेपाल आएपछि दुई हप्ता भित्र सम्पन्न हुने योजना छ। ठेकेदार कम्पनीहरूले वैशाखभित्र काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
यो परियोजना मास्टर प्लानको हिस्सा हो । अर्थ मन्त्रालयबाट बजेट उपलब्ध भएपछि बाँकी काम अघि बढ्नेछ। बाँकी संरचनाहरू र पार्किङ क्षेत्रलाई डेढदेखि दुई वर्षको अवधिमा पूरा गर्ने योजना छ। प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख ३० हजार ११३ रुपैयाँ र फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाख ९१ हजार ६०० रुपैयाँको ठेक्का सम्झौता गरिएको छ।

