काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारको हुने बताएका छन्। बिहीबार सिंहदरबारमा भएको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले, मञ्चमा कार्यक्रम गर्न नदिई आन्दोलनकारीहरूलाई बिथोल्न सरकारको कार्य रहेको उल्लेख गरे।
उनले लोकतन्त्रमा सबैको विचारलाई स्वतन्त्रतापूर्वक व्यक्त गर्ने अधिकार हुनु पर्छ भन्ने धारणा राखे। सांसद शर्माले पार्टीहरू मिलेर जनतामाथि दमन गरेको र तीनकुने घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरे।
सरकारको ओरबाट अश्रुग्याँस र हवाई फायर गरिएको घटनामा सरकारले नै जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो। उनले भने, “शान्तिपूर्ण कार्यक्रम गर्न दिइएन, अनि अश्रुग्याँस हानियो, ७४६ वटा अश्रुग्याँस पड्काइयो र १९२ वटा छर्रा पनि पड्काइयो।”
सांसद शर्माले आक्रान्त जनताको माग सम्बोधन नगरी लोकतन्त्रको नाममा अश्रुग्याँस हानिएको आरोप लगाए। उनले राप्रपा नेता रवीन्द्र मिश्र र धवल शमशेर जबरालाई सरकारको दुरुपयोग गरेर थुनेको भन्दै उनीहरूको रिहाईको माग पनि गरे।

