२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

निलम्बनपछि पहिलोपटक ओली-विन्दाबीच भेट, के भयो छलफल?

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पोलिटब्युरो नेतृ विन्दा पाण्डेबीच मंगलबार बालुवाटारमा ४५ मिनेट भेटवार्ता भयो। भेटमा विन्दाले आफूमाथि ६ महिनाअघि निलम्बन गरिएको भनिए पनि न त चिठी आएको न त फुकुवा गरिएको भन्दै गुनासो राखिन्।

गत कात्तिकमा एमाले मुख्यालय निर्माणमा विवादित जग्गा स्वीकारेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो। पुसमा उनलाई निलम्बन गरिएको भनिए पनि निलम्बन पत्र नपुगेको तथ्य ओलीले पनि यसै भेटमा थाहा पाए।

भेटमा ओलीले पुराना तितामिठा कुरा बिर्सेर पार्टीको काममा लाग्न आग्रह गरे। विन्दाले आफूले लेखेको ‘भुइँमान्छे’ पुस्तक पनि ओलीलाई उपहार दिइन्। पुस्तक पञ्चायतकालीन भूमिगत आन्दोलनका समर्थक र कार्यकर्ताहरूको कथामा आधारित छ।

पुस्तक पार्टीको प्रचार विभागले पास गर्नुपर्छ भन्ने भनाइप्रति विन्दाले असन्तुष्टि जनाइन्। ओलीले यसबारे जानकारी नभएको भन्दै त्यसलाई गलत भनेका थिए।

भेटपछि पाण्डेले भेट अनौपचारिक भए पनि पार्टीबाट औपचारिक धारणा आउन बाँकी रहेको बताइन्। भेटलाई निलम्बन फुकुवाको संकेतको रूपमा पनि हेरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस