काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी पाएका प्रा.डा. खड्ग केसीले ‘संस्थाको हितमा मात्रै काम गर्छु’ भन्ने प्रतिबद्धता जनाएका छन्।
मंगलबार पदभार ग्रहण गर्दै उनले त्रिविको नियमभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने बताए। विद्यार्थी, प्राध्यापक र कर्मचारीको सल्लाह सुझावमा अघि बढ्ने उनले बताए।
‘विश्वविद्यालय प्राज्ञिक निकाय हो, समस्या भए संवादबाट समाधान गर्छौं,’ केसीले भने।
पूर्व उपकुलपति केसरजङ्ग बरालले चैत १५ गते राजीनामा दिएपछि उपकुलपतिको पद खाली थियो। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले बरालको राजीनामा स्वीकृत गरेपछि केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्।
त्रिविको नियमअनुसार शिक्षाध्यक्षलाई तीन महिनासम्म निमित्त उपकुलपति बनाउने व्यवस्था छ। अब पूर्ण उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।
प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार

