काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका–४, नोमाबोजीमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। मृतक इंग्ल्याण्डका ६५ वर्षीय स्टेफन गोर हुन्, जो पर्यटक भिसामा नेपाल आएका थिए।
डोटीका डीएसपी कवीन्द्र सिंह बोहराका अनुसार उनी स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बस्दै आएका थिए। बिहीबार राति करिब साढे ९ बजे आफ्नै कोठामा उनी मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार उनले भित्रबाट ढोकाको चुक्कल लगाएर सुतिरहेका थिए। लामो समयसम्म ढोका नखुलेपछि छिमेकी चित्रा कुमारी बमले ढोका खोलेर हेर्दा उनी मृत भेटिएका थिए।
शव परीक्षणपछि कानुनी प्रक्रिया पूरा गरी गोरको शव स्वदेश पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मृतक र बमका बुवा पुराना साथी हुन्।
प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार

