काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।
उनीमाथि धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि गरिएको जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेको हो। उजुरी २०८१ चैत ११ गते दर्ता भएसँगै अख्तियारले चैत २० गते मन्त्रालयसँग स्पष्टिकरण मागेको थियो।
सूत्रका अनुसार मन्त्री हुँदा आलेले निजी कम्पनीमार्फत १ अर्ब रुपैयाँ बैंकबाट ऋण लिएर विमानस्थल क्षेत्रको ३० बिघा जग्गा खरिद गरेका थिए। सो क्रममा मेघा बैंकका कर्मचारी, ठेकेदार र उनका स्वकीय सचिव संलग्न रहेको दाबी छ।

जग्गा खरिदको नाममा बजेट दुरुपयोग, हिनामिना र भविष्यमा महँगोमा बेच्ने योजनासमेत रहेको उजुरीमा उल्लेख छ। विमानस्थल विस्तार योजना अधुरै छ, र अख्तियारले छानबिन तीव्र बनाएको छ।
सार्वजनिक लेखा समितिमा आलेले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पार्टीको दबाबमा नियुक्त गरेको खुलासा गरेका थिए। अधिकारीले नै पछि विमानस्थलका लागि छुट्याइएको बजेट हटाएका थिए।

