काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरबाट एक यात्रु सवार मोटरसाइकल त्रिशूली नदीमा खसेको छ।
आइतबार दिउँसो काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०५४ प ४०५४ नम्बरको मोटरसाइकल कृष्णभीरबाट करिब २०० मिटर तल त्रिशूली नदीमा खसेको हो।
नदीबाट एक युवालाई अचेत अवस्थामा उद्धार गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए। उद्धार गरिएको व्यक्तिको साथबाट सिन्धुलीको तीनपाटन गाउँपालिका–९ निवासी मीनबहादुर तामाङ नाम उल्लेख भएको मतदाता परिचयपत्र फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, ती व्यक्ति अचेत अवस्थामा रहेकाले उनको यकिन पहिचान खुल्न बाँकी छ। साथै, मोटरसाइकलमा उनी मात्रै सवार थिए कि अर्को कोही पनि थिए भन्ने पुष्टि नभएको एसपी सुवेदीले बताए।
प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार

