काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तमा परेका छन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट हटाएका हुन्।
सरकारको निर्णयविरुद्ध पटकपटक सार्वजनिक अभिव्यक्ति दिँदै आएका तामाङलाई प्रधानमन्त्रीले पदमुक्त गरेका हुन्। बर्खास्तीको जानकारी गृहमन्त्री रमेश लेखकले उनलाई टेलिफोनमार्फत दिएका स्रोतले बताएको छ।
तामाङले यसअघि नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा खुलेर बोलेका थिए। उनले घिसिङसँग मिलेर ‘डेडिकेटेड र ट्रंक लाइन’ विवादमा रहेका उद्योगहरूको लाइन काटेको दाबीसमेत गरेका थिए।
त्यसका साथै, सिँचाइ विभागको एक कार्यक्रममा मन्त्रालयका सचिव सँगै नबसेको भन्दै तामाङले उनलाई स्पष्टीकरण सोधेका थिए। तर, कानूनअनुसार राज्यमन्त्रीलाई सचिवलाई सोधपुछ गर्ने अधिकार छैन।
तामाङ र घिसिङ दुवै रामेछापका हुन्। तामाङको बर्खास्तीलाई राजनीतिक रूपमा घिसिङको समर्थनसँग जोडेर हेरिएको छ।

