२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

भोलि मन्त्रालय र जिप्रका घेराउ गर्दै चिकित्सक, सेवा रोक्ने चेतावनी

काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका चिकित्सकलाई बिहीबार बिहान १० देखि १२ बजेसम्म काठमाडौं उपत्यकामा स्वास्थ्य मन्त्रालय र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्न आह्वान गरेको छ।

संघको विस्तारित कार्यसमिति र आवासीय चिकित्सकको संयुक्त बैठकले यस्तो निर्णय लिएको हो। संघका कार्यकारी सदस्य तेत्छु मल्लले निजी मेडिकल कलेजमा कार्यरत डाक्टरलाई आकस्मिक बाहेकका सेवा बन्द गरी आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन्।

उनले भने, “देशभरका चिकित्सकलाई जिल्ला प्रशासन कार्यालयमा र उपत्यकाभित्रका चिकित्सकलाई माइतीघरमा भेला भई स्वास्थ्य मन्त्रालय घेर्न आह्वान गर्दछौं।”

संघले माग सम्बोधन नभए २४ घन्टापछि आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी पनि दिएको छ।

मागअनुसार, चिकित्सा शिक्षा आयोगको १६औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निर्देशन दिएको थियो। तर, निजी मेडिकल कलेजहरूले निर्णयको अवज्ञा गर्दै निर्वाह भत्ता समेत नदिएको चिकित्सक संघको भनाइ छ।

चितवन मेडिकल कलेजका आवासीय चिकित्सक विप्लव लामिछानेले व्यक्तिगत रूपमा बोलाएर मानसिक दबाब दिने, कक्षाबाट हटाउने र दर्ता रोक्ने जस्ता धम्की निजी मेडिकल कलेजहरूले दिइरहेको आरोप लगाए।

उनले भने, “यो आन्दोलन व्यक्तिगत स्वार्थका लागि होइन, सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि हो।”

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस