काठमाडौं । सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी आश्मा अलथानीले हिमाली क्षेत्रमा द्रुत रूपमा भइरहेको जलवायु परिवर्तनप्रति गम्भीर चिन्ता व्यक्त गरिन्।
सोलुखुम्बुको थामेमा आयोजित हिमाली आरोही सम्मेलनमा उनले भनिन्, “सगरमाथा जस्ता हिमालहरूमा हिउँ रित्तिदै जानु केवल नेपालका लागि मात्रै होइन, सम्पूर्ण विश्वका लागि खतरा हो।”
२०१९ मा पहिलो पटक नेपाल आएकी राजकुमारीले अहिलेको भ्रमणलाई विगतभन्दा निकै भिन्न अनुभवको रूपमा व्याख्या गर्दै हिउँ हराउने, चट्टान खुला देखिनु र मौसमको परिवर्तनलाई गम्भीर संकटको रूपमा लिइन्।
राजकुमारी थानीले जलवायु परिवर्तनको असर थामे जस्ता बस्तिहरूमा परेको समस्या र पूर्वसूचना प्रणालीको महत्त्वलाई जोड दिइन्। उनले सगरमाथा र हिमाली क्षेत्रहरूको संरक्षणमा वैश्विक सहकार्यको आवश्यकता भएको पनि बताइन्।
सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश सार्वजनिक गरिएको थियो, र यसलाई सगरमाथा संवादको पूर्वतयारीका रूपमा नेपाल सरकारले स्वीकारेको छ।

