२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

कक्षा १२ को परीक्षाबारे सर्वोच्चको आदेशमा के छ ?

काठमाडौं । सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै गर्न आदेश दिएको छ । साथै, आन्दोलनरत शिक्षकहरूको जायज माग तीन दिनभित्र सम्बोधन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले परीक्षा सार्न नपाइने र शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारका नाममा आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम देखिन्छ, त्यसैले परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्नू, परीक्षा नसार्नू र सार्न नलगाउनू ।’

साथै, आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न तीन दिनभित्र आवश्यक निर्णय गर्न पनि आदेशमा उल्लेख छ ।

शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरिरहेका छन् । आन्दोलनका कारण ११ वैशाखमा तोकिएको कक्षा १२ को परीक्षा २१ वैशाखमा सारिएको थियो । तर सर्वोच्चको पछिल्लो आदेशपछि अब परीक्षा पुनः सार्न नपाइने भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस