२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

शिक्षक आन्दोलनमा घाइते पत्रकारको अवस्थाबारे के भन्छन् उपचारमा संलग्न चिकित्सक ?

काठमाडौं । आइतबार दिउँसो शिक्षक आन्दोलनको रिपोर्टिङ गर्दै गर्दा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार चोटका कारण उनका दुवै आँखाको लेन्स सुन्निएको छ।

डा. सिभान्त श्रेष्ठका अनुसार सबिनाको आँखाभित्र रगत जमेको (हाइफिमा) छ, जसले गर्दा उनको दृष्टि एकदमै कम भएको छ। आँखाको छालाको माथिल्लो भाग च्यातिएको र आँखाको प्रेसर पनि अस्वभाविक रूपमा बढेको बताइएको छ।

‘आँखाको नशाको भागहरू भने देखिएको छ तर रेटिनाको अवस्था स्पष्ट देखिएको छैन,’ डा. श्रेष्ठले बताइन्। अहिले औषधि उपचार सुरु गरिएको छ र रगतको जमावट घटेपछि मात्र आँखाको पर्दाको वास्तविक अवस्था पत्ता लाग्नेछ।

भिडियो एक्सरेबाट हेर्दा पर्दा च्यातिएको स्पष्ट देखिएको छैन तर रगत जम्दा वा सुन्निँदा बीचको भाग राम्रोसँग देख्न गाह्रो हुने भएकाले थप परीक्षण आवश्यक रहेको चिकित्सकले बताएका छन्।

‘औषधिले सुधार भए मात्र सर्जरी गर्ने निर्णय हुन्छ,’ डा. श्रेष्ठले भनिन्। उनका अनुसार झिल्लीमा लागेको चोट कम भएपछि एन्टिबायोटिक र स्टेरोइड थेरापीमार्फत उपचार अघि बढाइनेछ। साथै, सबिनाको आँखाको पछाडिको पर्दामा पनि गम्भीर चोट लागेको भए उपचार प्रक्रिया लामोसमयसम्म तानिन सक्ने सम्भावना रहेको चिकित्सकहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस