२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

झण्डै महिना दिनदेखि जारी शिक्षक आन्दोलनबारे बोल्यो नेपाल बार

काठमाडौँ। नेपाल बार एसोसिएसनले पेशागत र अन्य माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघसँग शीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न अपिल गरेको छ।

सोमबार जारी गरेको विज्ञप्तिमा बारले आन्दोलनका कारण राजधानीका मुख्य र व्यस्त सडकमा यातायात अवरुद्ध हुने र दैनिक जनजीवन कष्टकर हुने उल्लेख गरेको छ। साथै, पठनपाठन बन्द हुँदा विद्यार्थीहरूको संविधान प्रदत्त शिक्षा सम्बन्धी हकको हनन भएको र निर्धारित परीक्षाहरू समेत प्रभावित भएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न र देखिएका समस्याहरूका बारेमा शीघ्रातिशीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न संघीय संसद, नेपाल सरकार र नेपाल शिक्षक महासंघ लगायत सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई नेपाल बार एसोसिएशन हार्दिक अपिल गर्दछ।’

बारले वैशाख १४ गते भएको झडपमा पत्रकार, शिक्षक र सुरक्षाकर्मीहरू घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै, संविधान प्रदत्त विरोधका कार्यक्रम शान्तिपूर्ण रुपमा सञ्चालन गर्न र आन्दोलनमा बल प्रयोग नगर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस