२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

सकियो शिक्षक-सरकारको वार्ता : २१ गतेदेखि हुने भनिएको १२ को परीक्षाबारे भयो यस्तो निर्णय

काठमाडौं । विद्यालय शिक्षा ऐन जारीको मागसहित आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच सोमबार रातिसम्म वार्ता भएको छ। वार्ता शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा सिंहदरबारस्थित मन्त्रालयमा भएको हो।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुलीसहितका पदाधिकारी सहभागी वार्तामा विद्यालय शिक्षा ऐन, शिक्षकका सेवा–सुविधा र आन्दोलनको मोडालिटीबारे छलफल भएको थियो।

शिक्षकहरूले वार्ता सकारात्मक दिशातर्फ गएको बताउँदै अबको निर्णय मन्त्रिपरिषद्माथि निर्भर हुने बताएका छन्। सहअध्यक्ष पराजुलीका अनुसार कक्षा १२ को परीक्षा तोकिएको मिति २१ गतेदेखि गर्ने कुरामा शिक्षक सहमत भएका छन्।

‘सरकारले ऐन ल्याउने प्रक्रिया अघि बढाउने संकेत दिएको छ। केही माग मन्त्रिपरिषद्बाट सम्बोधन हुने गरी छलफल भएको छ,’ पराजुलीले भनिन्।

शिक्षामन्त्री पन्तले पनि वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। सरकार परीक्षा समयमै गर्न चाहने पक्षमा रहेको र त्यसअनुसार तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ।

शिक्षकहरूले भने विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नछाड्ने अडान यथावत राखेका छन्। उनीहरूले वार्ता सफल भए आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिने जनाएका छन्।

सरकारले मागअनुसार बजेट जुटाउने र कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए आन्दोलन अन्त्यको बाटो खुल्न सक्ने संकेत देखिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस